२०८३ असार १६ गते , मंगलबार

कमेडियन पवन भट्टराईको बढ्दो लोकप्रियता

sajilo news
परिवेश मिडिया
२०८३ असार १६ गते , मंगलबार
कमेडियन पवन भट्टराईको बढ्दो लोकप्रियता

भारतको आसामबाट नेपाली हास्य क्षेत्रमा आफ्नो पहिचान बनाउन आएका पवन भट्टराई आज लोकप्रिय र बहुआयामिक हास्य कलाकारका रूपमा स्थापित भएका छन् । निरन्तर मेहनत, मौलिक प्रस्तुति र फरक–फरक चरित्रमार्फत उनले नेपाली दर्शकमाझ विशेष स्थान बनाउन सफल भएका छन् ।
पवन भट्टराई पहिलोपटक राष्ट्रिय चर्चामा आएका थिए ‘कमेडी च्याम्पियन सिजन–२’ मार्फत । फिजिकल अडिसनमै उत्कृष्ट प्रस्तुति दिएर गोल्डेन की प्राप्त गरेका उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टप–६ सम्मको यात्रा तय गरेका थिए।
त्यसपछि उनी की इन्टरटेन्मेन्टद्वारा प्रस्तुत ‘कमेडी क्लब’ मा लगातार दुई वर्ष परफर्मर का रूपमा आबद्ध रहे। यस अवधिमा उनले ४० भन्दा बढी फरक–फरक पात्र निभाउँदै आफ्नो अभिनय क्षमता प्रमाणित गरे र दर्शकबाट राम्रो प्रशंसा पाए।
कलाकारितासँगै पर्दापछाडिको जिम्मेवारी पनि सम्हालेका पवन ‘कमेडी च्याम्पियन सिजन–३’ मा असिस्टेन्ट डाइरेक्टरका रूपमा समेत कार्यरत रहे, जसले उनको सिर्जनात्मक र प्राविधिक दुवै पक्षलाई उजागर गरेको छ ।

हाल उनी ‘कमेडी नाइट्स’ मा नियमित रूपमा देखिँदै आएका छन् । प्रत्येक हप्ता नयाँ–नयाँ पात्र, फरक शैली र मौलिक प्रस्तुति लिएर दर्शकमाझ आउने उनी हरेक एपिसोडमार्फत दर्शकको मन जित्न सफल हुँदै आएका छन् । गाइने, बालेन, हरिबहादुर, बीके भाइ, चुल्ठे अंकल लगायतका विविध पात्रहरूमा उनको अभिनयलाई दर्शकले विशेष रुचाउने गरेका छन् ।
यसबाहेक, ‘महाजात्रा विथ कमेडी नाइट’ नेपाल टुरमार्फत देशका विभिन्न सहरमा प्रत्यक्ष प्रस्तुति दिँदै उनले हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । स्टेज र टेलिभिजन दुवै माध्यममा उनको लोकप्रियता निरन्तर बढ्दो क्रममा छ ।
आसामबाट सुरु भएको उनको यात्रा आज नेपाली कमेडी क्षेत्रमा सफलताको प्रेरणादायी कथाका रूपमा स्थापित भएको छ। मौलिक अभिनय, सिर्जनशीलता र निरन्तर मेहनतका कारण पवन भट्टराई नेपाली हास्य जगतका लोकप्रिय, प्रभावशाली र भविष्यका अझ सम्भावनायुक्त कलाकारमध्ये एक मानिन्छन् ।

सम्बन्धित समाचार