झापामा ट्राफिक चेकजाँचमा कडाई, लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक चेकजाँचलाई कडा बनाएको छ । चेकजाँचको क्रममा सोमबार मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे र महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा चालकहरुको लागूपदार्थ सेवन तथा मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो ।
दुई पांग्रे, चार पांग्रे, ट्याक्टरका गरी २ सय सवारी साधनका चालकहरुलाई ब्रेथलाईजरद्वारा चेकजाँच गर्दा ५ जना चालकहरुले मादक पदार्थ सेवन गरेको पाइएको थियो । त्यस्तै शंका लागेका २९ जना चालकहरुको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरुले लागूऔषध सेवन गरेको पाइएको थियो ।
लागूपदार्थ सेवन गरेको पुष्टि भएका चालकहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
उनले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नको लागि चेकजाँच कार्यक्रम गर्ने गरिएको कार्यालय प्रमुख राईले बताए ।